काठमाडौँ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरवारमा निर्माणाधीन नयाँ संसद् भवनको कामलाई तीव्रता दिन कडा निर्देशन दिएका छन्। फागुन २१ को निर्वाचनपछि बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू नयाँ भवनबाटै सञ्चालन गर्ने संसद् सचिवालयको तयारी रहेकाले अध्यक्ष दाहालले निर्माण पक्षलाई सचेत गराएका हुन्।
भवनको निरीक्षण र छलफलका क्रममा अध्यक्ष दाहालले कम्तीमा दुवै सदनका बैठक कक्ष (हल) हरू तत्काल तयार हुनुपर्नेमा जोड दिए। "सदन चल्ने कुरा निधो भइसकेको छ, तर निर्माणको गति अझै अपेक्षाअनुसार छैन," उनले भने, "फिनिसिङ र प्राविधिक पक्षमा ध्यान दिएर काम छिटो सक्नुहोस्।"
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार संसद् भवनको निर्माण कार्य हालसम्म करिब ९२ प्रतिशत सम्पन्न भइसकेको छ। बाँकी कामहरू पूरा गरी चैतको पहिलो हप्तासम्ममा भवन हस्तान्तरण गर्न सकिने ब्रिफिङ सचिव सिग्देलले अध्यक्ष दाहाललाई गराएका छन्। सरकारले नयाँ संसद् भवनलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ।