काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति गगन थापाले ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन्। बिहीबार शुभकामना सन्देश जारी गर्दै थापाले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरे।
उनले २००७ सालको जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासन अन्त्य गरी राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणको मार्ग प्रशस्त गरेको उल्लेख गरे। थापाले २०४६ र २०६२/६३ को आन्दोलन हुँदै संघीयता र गणतन्त्रसम्मको यात्राको जननी नै फागुन ७ को क्रान्ति भएको दाबी गरे।
राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारका लागि भएका संघर्षमा सहिदहरूले दिएको बलिदानलाई स्मरण गर्दै थापाले संविधानको संरक्षण र आर्थिक समृद्धि हासिल गर्न सके मात्र उनीहरू प्रति सच्चा सम्मान हुने बताए। उनले प्रजातन्त्रले सुदृढ राष्ट्रियता र जनसहभागिताको आधार निर्माण गरेको उल्लेख गर्दै समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।