काठमाडौँ।
आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो।
नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सानदार ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले। उनले ४७ बलमा ५८ रन जोडे। यससँगै दिपेन्द्र विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्। उनलाई सोमपाल कामीले २६ रन बनाएर राम्रो साथ दिए। अन्य ब्याटरहरूमा लोकेश बमले १३ तथा गुल्शन झा र आसिफ शेखले ११-११ रन जोडे। कप्तान रोहित पौडेल ५ र कुशल भुर्तेल१ रनमै आउट भएपछि नेपाल सुरुमा दबाबमा परेको थियो।
बलिङतर्फ वेस्ट इन्डिजका जासन होल्डरले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै अकील हुसैन, माथ्युज फोर्ड, शामर जोसेफ र रोस्टन चेजले १-१ विकेट झारे। अहिले वेस्ट इन्डिजले १३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्ने तयारीमा छ।