काठमाडौँ।
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटको लज्जास्पद हार व्यहोर्न बाध्य भएको छ। मुम्बईको वानखेडे स्टेडियममा बिहीबार भएको खेलमा नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो।
इटालीको जितमा ओपनरद्वय जस्टिन मोस्काले ६० र एन्थोनी मोस्काले ६२ रनको अविजित इनिङ खेले। नेपाली बलरहरूले इटालीको एक विकेट पनि झार्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भएको थियो। नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। इटालीका क्रिसन कलुगामागेले ३ र बेन मनेन्टीले २ विकेट लिए।
पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको नेपालको यो लगातार दोस्रो हार हो। यो हारसँगै नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ र अघिल्लो चरणको यात्रा कठिन बनेको छ।