काठमाडौँ।
जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक सफलता हात पारेको छ। प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको हो। बहुमतका लागि २३३ सिट आवश्यक पर्नेमा एलडीपीको गठबन्धनले कुल ३५२ सिट हासिल गरेको छ।
यो जित एलडीपीको इतिहासकै सबैभन्दा ठूलो हो। यसअघि सन् १९८६ मा पार्टीले ३०० सिट जितेर रेकर्ड बनाएको थियो। जितपछि प्रधानमन्त्री ताकाइचीले जापानलाई बलियो र समृद्ध बनाउन आफ्ना नीतिहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन्।
यो नतिजासँगै उनलाई माथिल्लो सदनमा विपक्षीको नियन्त्रण भए पनि महत्त्वपूर्ण कानुनहरू पारित गर्न सक्ने विशेष शक्ति र सहजता प्राप्त भएको छ। उनले आवश्यकता परे विपक्षीसँग सहकार्य गर्न तयार रहेको समेत बताएकी छन्।