काठमाडौँ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले परम्परागत अपराधसँगै साइबर, संगठित र अन्तर्राष्ट्रिय अपराधका कारण समाज झनै जटिल बन्दै गएको बताएका छन्। 'नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२' को उद्घाटन गर्दै उनले प्रविधिको तीव्र विकाससँगै बढेका नयाँ प्रकृतिका अपराध नियन्त्रण गर्न प्रहरीले नवीन र रणनीतिक कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।
दुई दिनसम्म चल्ने यस सम्मेलनमा अपराधका प्रवृत्ति, कारण र रोकथामका उपायबारे विज्ञहरूसँग गहन छलफल हुनेछ।आईजीपी कार्कीले संघीय प्रणालीमा प्रहरीको भूमिका बहुआयामिक बनेकाले डिजिटल सुरक्षा, जलवायु
परिवर्तन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यशैली सुधार्नु अहिलेको प्राथमिकता रहेको बताए। सम्मेलनले नेपाल प्रहरीको दीर्घकालीन लक्ष्य र समयसापेक्ष कार्ययोजना निर्माणका लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास लिइएको छ।