काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार, राजनीतिक दल र स्वतन्त्र गरी कुल ३,४८४ जनाले मनोनयन दर्ता गराएका छन् ।
कुल उम्मेदवारमध्ये ३९५ महिला, ३,०८८ पुरुष र ३ जना तेस्रोलिंगी रहेका छन् । सबैभन्दा बढी धनुषा-३ मा ४५ जना र सबैभन्दा कम मनाङ र मुस्ताङमा ५-५ जनाको उम्मेदवारी परेको छ ।
यसपटकको निर्वाचनमा चार पूर्वप्रधानमन्त्रीहरू खड्गप्रसाद शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र बाबुराम भट्टराई चुनावी मैदानमा छन् भने शेर बहादुर देउबा र झलनाथ खनाल उम्मेदवारीबाट बाहिरिएका छन् ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परिवर्तन गरेर उम्मेदवार बन्ने प्रवृत्ति यसपटक व्यापक देखिएको छ । मनोनयन दर्ताका क्रममा झापा-५ मा ओली र काठमाडौंमा रास्वपाले आचारसंहिता उल्लंघन गर्दै शक्ति प्रदर्शन गरेको आयोगको प्रारम्भिक निष्कर्ष छ ।
यसपटक पत्रकार, समलिंगी तथा तेस्रोलिंगी समुदायबाट पनि उल्लेख्य उम्मेदवारी परेको छ, जसले निर्वाचनलाई थप समावेशी बनाएको छ ।