काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले आफूले पद त्याग गरेको उनले स्पष्ट पारेका छन् । राजीनामा पत्रमा उनले 'जेनजी' आन्दोलनको जगमा बनेको नागरिक सरकारमा रहेर काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
आफ्नो चार महिनाको कार्यकालमा निष्पक्ष र पारदर्शी ढंगले राष्ट्रिय हितमा काम गरेको उल्लेख गर्दै खरेलले अब दलीय राजनीतिमा प्रवेश गर्ने बताएका छन् । "सरकारको स्वतन्त्र र गैरराजनीतिक पहिचानमा आँच नआओस् भनेर दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै राजीनामा दिएको हुँ," उनले भनेका छन् ।
राजीनामापछि पनि आफ्नो सार्वजनिक जीवन राष्ट्र र नागरिकको हितमा समर्पित रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर-२ मा चुनाव लड्ने तयारीमा छन् ।