काठमाडौँ।
कर्णाली प्रदेशको मुगुमा निर्माण गरिएको नेपाली लघु चलचित्र (सर्ट फिल्म) ‘हेपिनेस’ भारतको कोलकातामा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फाइनलमा प्रवेश गरेको छ ।
सन् २०२६ को ‘अमादर अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’ मा विश्वभरका चलचित्रहरूसँग प्रतिस्पर्धा गर्दै ‘हेपिनेस’ फाइनलका लागि छनोट भएको हो । फ्रान्स, ब्राजिल, मेक्सिको लगायत सात देशका अनुभवी चलचित्रकर्मीहरूको जुरीले यो फिल्मलाई फाइनलका लागि छनोट गरेको हो ।
निर्देशक शैलेश हमालका अनुसार, बाल मनोविज्ञानमा आधारित यो फिल्मले ‘खुसी भविष्यको ठूलो उपलब्धिमा मात्र नभई आफ्नै सिर्जना र साना अनुभवमा पनि भेटिन्छ’ भन्ने सन्देश दिएको छ । फिल्ममा बाल कलाकार अस्मिता हमालको मुख्य भूमिका रहेको छ ।
मुगुका युवा फिल्मकर्मीहरूको समूह ‘फ्लाइङ फेदर्स फिल्म्स’ को ब्यानरमा बनेको यो फिल्मको अन्तिम नतिजा फेब्रुअरी १९ मा सार्वजनिक हुनेछ । यसअघि पनि यो समूहले बनाएका फिल्मले अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।