यूके छाडेर संवाद यात्रामा नेपाल आएकी प्रकृतिको लक्ष्य : गाउँ पुग्ने अनि आवाज वुलन्द पार्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

86
Share
Featured

काठमाडौँ

यूकेबाट स्नातक अध्ययन पूरा गरेकी प्रकृति ढकाल हाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर देशका विभिन्न गाउँ–सहरमा पुगेकी छन् । राजनीतिक संक्रमण, युवाको भूमिका र जनताको आवाज बुझ्ने उद्देश्यसहित सुरु गरिएको यो यात्रा अझै निरन्तर रहेको उनले बताइन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा ढकालले भनिन्, ‘अहिले नेपाल राजनीतिक रूपमा ट्रान्जिसन फेजमा छ । पुराना र नयाँ शक्ति दुवै सक्रिय छन् । यस्तो अवस्थामा म आफ्नो ज्ञान, सीप र समयबाट देशका लागि के योगदान गर्न सक्छु भनेर जमिनमै पुगेर बुझ्न चाहन्छु ।’

उनका अनुसार संवाद यात्राको मूल उद्देश्य बोल्न होइन, सुन्न जानु हो । ‘सहर केन्द्रित आवाज मात्रै होइन, गाउँबाट तलबाट माथि आउने आवाज सुन्न जरुरी छ । आन्दोलन सडकमा मात्र होइन, समाजभित्र निरन्तर चलिरहेकै छ,’ उनले भनिन् ।

‘काठमाडौं बाहिरका ‘नदेखाइएका’ र ‘नभनिएका’ कथाहरू सङ्कलन गरी राष्ट्रियस्तरमा उजागर गर्ने, ती आवाजहरूलाई सामाजिक सञ्जालमार्फत देशभर साझा गर्ने, जागेको जेन–जी पुस्ता र अघिल्लो पुस्ताबीचको सोच, अनुभव र भविष्यको दृष्टिकोण बुझ्ने प्रयास गर्ने एवं स्थानीय समुदाय र नीति–निर्माताबीच संवादको पुल निर्माण गर्ने मेरो अभिष्ट हो’,उनले भनिन् ।

‘संवाद यात्रा’ को नेतृत्व गर्दै नेपालका १४ बढी जिल्ला पुग्दा उनले नेपालको वास्तविक चित्रसमेत देखेको बताइन् ।

जेन–जी आन्दोलन “नेपो किड”पछि मानिसहरुमा केही हदमा परिवर्तनको आशा र राजनीतिक चेतना बढेको पाएं’, उनले सुनाइन्, ‘जस्तो कर्णालीका युवामा काठमाडौंभन्दा कम रहेनछ राजनीतिक चेतना । परम्परागत दलबाट परिवर्तन नभएपछि युवा पुस्ता वैकल्पिक शक्ति हुने धेरैको अपेक्षा रहेछ । चुनाव भएमा परिवर्तन हुने आशा धेरैमा छ ।’

उनले देशको आमुल परिवर्तन (रेडिकल चेन्ज) एक वा दुई व्यक्तिले भन्दा एउटा फोर्स नै आवश्यक रहेकाले आफूहरु त्यसमा लागेको बताइन् ।

‘मलाई लाग्छ जेनजी आन्दोलन आफू नेता बन्न होइन, परिवर्तनका लागि भएको हो । हामी अब चाहन्छौं नयां सोच, दिमाग र इच्छाशक्ति भएका व्यक्ति जसले देशको मुहार फेरोस्’, उनले भनिन् ‘त्यो जेनजी विद्रोह कुनै वाद वा तन्त्रको लागि थिएन। त्यो भ्रष्टाचारले बन्धक बनाएको हाम्रो तन, मन र आत्माको पुनरजागरणको लागि थियो र हाम्रो भविष्य फिर्ता लिने लडाइँ थियो । अबको चुनावमा राम्रो मान्छेले जितोस् भन्ने हो । हामीलाई पद चाहिने होइन्, देशको अजेण्डा माथि राख्ने व्यक्ति आओस्’, उनले भनिन् ।

उनले म वा हामी भन्दा पनि राम्रो मान्छे आउनुपर्छ भन्ने सोच आफ्नो रहेको पनि बताइन् ।

१४ जिल्लाको यात्रा, गाउँ–सहरको फरक अनुभूति

ढकालले हालसम्म पूर्वदेखि पश्चिमसम्म १४ जिल्लामा संवाद यात्रा गरिसकेकी छन् । तराई र पहाडी जिल्लामा पुगेकी उनी हिमाली क्षेत्र मौसम र आर्थिक कारणले तत्काल जान नसकिएको बताउँछिन् । इलाम, भोजपुर, जाजरकोट, सुर्खेत, मधेसका विभिन्न स्थान हुँदै यात्रा गर्दा उनले जनताको देशप्रतिको माया र परिवर्तनप्रतिको आशा समान देखेको बताइन् ।

‘बाटो–घाटो केही ठाउँमा राम्रो बनेको छ, तर विकास भनेको सडक मात्रै होइन,’ ढकालले भनिन्, ‘विद्यालयमा शौचालय, भवन, शिक्षकको अभावजस्ता आधारभूत समस्या अझै गम्भीर छन् ।’

‘छोरी मान्छे भएर निस्किँदा डर लाग्छ’ भन्ने अनुमान गलत

यात्राअघि सुरक्षाको चिन्ता रहेको स्वीकार्दै ढकालले भनिन्, ‘छोरी मान्छे भएर गाउँ–गाउँ निस्किँदा चुनौती होला भन्ने लागेको थियो । तर वास्तविकता उल्टो रह्यो । गाउँमा अपार माया, सद्भाव र सहयोग पाएँ । ‘अतिथि देवो भव’ भन्ने नेपाली संस्कार मैले प्रत्यक्ष अनुभूति गरेँ ।’

उनका अनुसार धेरैजसो स्थानमा स्थानीयकै घरमा बसेर, स्थानीयसँगै खाएर यात्रा सम्पन्न गरिएको थियो, जसले आर्थिक बोझ पनि परेन ।

विदेशमा देखेको पीडा र नीति सुधारको खाँचो

लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेकी ढकालले विदेशमा नेपाली विद्यार्थीहरूको अवस्था पनि नजिकबाट देखेको बताइन् । ‘स्कलरसिपमा पढ्ने र काम खोज्दै भौतारिने नेपाली युवाबीच ठूलो खाडल छ,’ उनले भनिन्, ‘यसलाई समाधान गर्न राज्यको नीतिगत हस्तक्षेप आवश्यक छ ।’

उनले श्रम मात्र होइन, ज्ञान निर्यात गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । ‘आईटीजस्ता क्षेत्रमा नेपालमै बसेर विदेशका लागि काम गर्न सकिने सम्भावना छ । एक्सचेन्ज प्रोग्राम, रिमोट वर्क र रिटर्न पोलिसीमा ध्यान दिनुपर्छ,’ ढकालले भनिन् ।

‘अब अपोलिटिकल भएर बस्न सकिँदैन’

ढकालका अनुसार वर्तमान अवस्थामा कुनै पनि नेपाली अपोलिटिकल भएर बस्ने विकल्प छैन । ‘यदि स्थिर सरकार र सुशासन भएको भए राजनीतिमा नआए पनि हुन्थ्यो । तर अहिले अर्थपूर्ण राजनीतिको दिशामा जानैपर्छ,’ उनले भनिन् ।

उनले राजनीतिमा आउन चाहने युवाका लागि क्षमताको विकास आवश्यक रहेको बताइन् । ‘सांसद भएर के गर्ने भन्ने स्पष्टता बिना राजनीतिमा आउनु हुँदैन,’ उनले भनिन् ।

निर्वाचन अपरिहार्य, तर सचेत मतदाता आवश्यक

आगामी निर्वाचनबारे ढकालले भनिन्, ‘निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया हो । तर चुनावभन्दा पनि महत्वपूर्ण कुरा मतदाताको सचेतना हो ।’ पुराना दलले अवसर पाएर पनि अपेक्षित डेलिभरी गर्न नसकेकाले वैकल्पिक शक्तिप्रति जनताको चासो बढेको उनले बताइन् ।

यसैबीच उनले संवाद यात्रामा उनले सोध्ने प्रमुख प्रश्न समेत साझा गरिन् जसमा उनको एक प्रश्न थियो , ‘अबको नेता कस्तो हुनुपर्छ ?’ जवाफमा अधिकांश नागरिकले एउटै कुरा भने, ‘नेताले सुन्न सक्नुपर्छ ।’ वीरगञ्जमा भेटिएकी एक आमाको भनाइ उद्धृत गर्दै ढकालले भनिन्, ‘मेरो छोरी स्कुल जाँदा–आउँदा सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी दिन्छ भने म त्यहीलाई भोट दिन्छु ।’

यात्रा निरन्तर रहने

ढकालले ‘देश परिवर्तन संवाद यात्रा’ अझै निरन्तर रहने बताउँदै भनिन्, ‘यो कुनै एक चरणको कार्यक्रम होइन, यो निरन्तर प्रक्रिया हो । सुन्ने, बुझ्ने र त्यसकै आधारमा दीर्घकालीन समाधान खोज्ने प्रयास हो ।’

उनले सबैको भविष्य देशले नै बनाउने हो, र त्यसका लागि संवाद, नीति सुधार र सक्षम नेतृत्व अपरिहार्य रहेको बताइन् ।

चितवनमा जन्मिएकी ढकालले गण्डकी मेडिकल कलेजबाट मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएससी र किङ्स् कलेज नेपालबाट नन प्रफिट एमबीए डिग्री हासिल गरेकी छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सिस्टम्स् थिंकिङ सम्बन्धी तालिम पनि लिएकी छन् ।

पोखरा रिसर्च सेन्टरमा झन्डै चार वर्ष प्रोगाम अफिसरको रुपमा काम गरेकी प्रकृति अहिले युनाइटेड फर इम्प्याक्टकी कार्यकारी निर्देशक तथा आइएनल्याबकी ग्लोबल हेल्थ पोलिसी लिड पनि हुन् ।

यो समाचारमा

पोखराजेन–जी आन्दोलन “नेपो किड”काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...