काठमाडौँ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित सोनियापट्टीमा आज बिहान मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
दुर्घटनामा ट्रकको पछाडि सवार सुनसरी बर्जु गाउँपालिका-१ का ३२ वर्षीय बिरेन्द्र गुरुङ, ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो । उनीहरूलाई ट्रकमा लोड गरिएको मार्बलले किचेको थियो ।
ट्रकको अगाडिको क्याबिनमा बसेका तीन जना घाइते भएका छन् र उनीहरूको विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रकका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।