काठमाडौँ
नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेर बहादुर देउबा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम वार्ताको प्रयास भइरहेको जानकारी आए पनि त्यसलाई मध्यनजर गर्दै महाधिवेशनको कार्यक्रम अगाडि बढाइएको बताए।
उनले भने, ‘निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने जानकारी आएको छ, त्यसलाई हामी सम्मान गर्छौं। तर सहमति नभए हाम्रो कार्यक्रमअनुसार प्रक्रिया अगाडि बढ्छ।’
पोखरेलले मंगलबार बेलुकी विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि सहमति नजुटे निर्वाचनमार्फत नै नेतृत्व चयन गरिने स्पष्ट पारेका थिए।
उनका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार देखिए पनि सभापति देउवा नेतृत्व हस्तान्तरण गर्न तयार नभएको अवस्था आफूहरूका लागि स्वीकार्य नरहेको बताए। उनले सभापति देउवाले पार्टी नेतृत्व छोडेर पार्टी र आफ्नो व्यक्तित्वसम्बन्धी लेखनमा बाँकी जीवन समर्पित गर्नुपर्ने धारणा समेत व्यक्त गरे।
यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन मंगलबार साँझ पारित भएसँगै बन्दसत्र समापन गरिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूले नयाँ पदाधिकारी संरचनाको खाका समेत तयार गरिरहेको जनाइएको छ।
बुधबार बिहान पनि वार्ताको ढोका खुला राखिने भए पनि निर्वाचनको प्रक्रिया नयाँ तालिकाअनुसार अगाडि बढ्नेछ। केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताको समय बिहान ८ः१५ बजेदेखि ९ः१५ बजेसम्मका लागि थप गरिएको छ।