काठमाडौँ।
चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३-२ को रोमाञ्चक गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरेबियामा आइतबार राति भएको फाइनल खेलमा राफिन्हाले दुई गोल गर्दै बार्सिलोनालाई उपाधि रक्षा गराएका हुन् ।
किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । रियल मड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक-एक गोल फर्काए पनि हार टार्न सकेनन् ।
खेलको ३६औँ मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा तीन गोल भएपछि खेल थप रोमाञ्चक बनेको थियो ।
खेलको ७३औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए । खेलको अन्त्यतिर फ्र्याङ्की डी जोङले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।