काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एकपछि अर्को गरी नयाँ प्रस्तावहरू ल्याएपछि एकता प्रक्रिया भंग भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको रास्वपा सचिवालय बैठकले घिसिङले पार्टीको नाम नै फेर्नुपर्ने लगायतका माग राखेका कारण एकताले पूर्णता पाउन नसकेको ठहर गरेको हो ।
रास्वपाका नेता शिशिर खनालका अनुसार, बैठकमा सभापति रवि लामिछानेले घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्नुपर्ने र अन्य पदाधिकारीमा पनि आफ्ना नेतालाई नियुक्त गर्नुपर्ने जस्ता प्रस्ताव राखेको जानकारी गराएका थिए ।
प्रारम्भिक सातबुँदे सहमतिभन्दा बाहिर गएर फरक-फरक पूरक प्रस्तावहरू आउन थालेपछि एकता अगाडि बढाउन नसकिएको रास्वपाको भनाइ छ । "एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारीदेखि निर्वाचन क्षेत्रसम्मको बाँडफाँटको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भयो," नेता खनालले भने ।