काठमाडौँ।
गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारका मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति ढल्कने छुट नभएको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारको एकमात्र ‘म्यान्डेट’ तोकिएको मितिमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको दोहोर्याए ।
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भने, “तोकिएको मितिमा निर्वाचन हुनेमा शंका नगर्नुहोस् । यदि चुनाव भएन भने देशले संकट सामना गर्नुपर्ने हुन सक्छ ।”
उनले 'जेनजी' आन्दोलन सुशासनका लागि भएको उल्लेख गर्दै सरकार सुशासन कायम गर्न कटिबद्ध रहेको बताए । सरकारले गरिरहेका काममा हौसला प्रदान गरी मनोबल बढाइदिन पनि उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले केही मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्नेतर्फ सचेत गराए । उनले स्वच्छ निर्वाचनका लागि सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै एआई र सामाजिक सञ्जालबाट फैलिने भ्रमप्रति पनि ध्यानाकर्षण गराए ।