काठमाडौँ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई निश्चित शुल्क तिरेर मतदाता नामावलीको विवरण उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले जारी गरेको निर्वाचन निर्देशिकाअनुसार, कुनै पनि दलले १० हजार रुपैयाँ शुल्क तिरेर देशभरका मतदाताको नामावली लिन सक्नेछन् ।
आयोगले दलको औपचारिक पत्रका आधारमा हार्डड्राइभ वा पेनड्राइभमा विद्युतीय रूपमा उक्त विवरण उपलब्ध गराउनेछ । तर, मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर जस्ता व्यक्तिगत विवरण भने उपलब्ध गराइने छैन ।
यदि कुनै दललाई एउटा प्रदेशको मात्र विवरण चाहिएमा ५ हजार रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै, जिल्लाभरको मतदाता नामावलीका लागि ३ हजार र कुनै एक निर्वाचन क्षेत्रको नामावलीका लागि पनि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
कुनै व्यक्तिले आफ्नो मात्र मतदाता नामावलीको प्रतिलिपि लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । फोटोबाहेकको मतदाता नामावली भने जोसुकैले हेर्न वा सार्न सक्नेछन् ।