काठमाडौँ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सदस्यका लागि यो निर्वाचन हुन लागेको हो । आयोगले यसअघि नै अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
निर्वाचन कार्यतालिका अनुसार, पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने पदपूर्तिका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता रहन्छन् ।