काठमाडौँ
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहपूर्ण सुधार देखिएको छ। नेप्से परिसूचक २३.१३ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको छ।
आजको बजारमा १ करोड १३ लाख ७५ हजार ४७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ पुगेको छ। कुल १९४ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ र ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै उपसूचकहरू हरियाली देखिएका छन्। उत्पादन तथा प्रशोधन उपसूचक ३.०५ प्रतिशत, विकास बैंक २.७० प्रतिशत, होटल तथा पर्यटन २.५३ प्रतिशत, र जलविद्युत १.४४ प्रतिशतले बढेका छन्। बैंकिङ, बीमा र फाइनान्स उपसूचकहरूमा सामान्य सुधार १ प्रतिशतभन्दा कम देखिएको छ।
आज बजारमा ६ कम्पनीमा १० प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ। यी कम्पनीहरू हुन्: सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार, रूरू जलविद्युत र बाराही हाइड्रोपावर।
तर, केही कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक र सापाङ्दीमाई जलविद्युतका सेयर मूल्यमा २.४९ प्रतिशतको गिरावट आएको छ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो, जसको ३५ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। त्यस्तै, बन्दीपुर केबलकारको कारोबार २० करोड ४७ लाख र एसवाई प्यानलको १७ करोड ४७ लाख रुपैयाँ बराबरको भएको छ।