काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले पटक-पटक समानुपातिक सांसद बन्न खोज्ने नेताहरूप्रति कटाक्ष गरेका छन् । उनले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू नै प्रत्यक्ष चुनाव लड्न डराएको भन्दै सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन् ।
बाँस्कोटाले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, “समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक-पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो ।”
उनले कांग्रेस र एमाले मिलेर चुनाव लड्नुपर्छ भन्ने नेताहरूलाई लक्षित गर्दै भने, “रुख-सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले ।” बाँस्कोटाले यस्ता नेताहरूले समावेशीताकै बेइज्जत गरेको र यसमा पुरुष नेताहरू बढी देखिएको उल्लेख गरेका छन् ।
एमालेको समानुपातिक बन्दसूचीमा उपाध्यक्ष रामबहादुर थापा 'बादल' को नाम समावेश भएपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ । थापाले हालै एक कार्यक्रममा कांग्रेस-एमालेले आधा-आधा सिट बाँडेर चुनाव लड्न सक्ने अभिव्यक्ति दिएका थिए, जसलाई लक्षित गर्दै बाँस्कोटाको यो टिप्पणी आएको हो ।