काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति सामाजिक अभियन्ता आशिका तामाङले गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् । उनले उक्त सूचीले समानुपातिक प्रणालीको मूल मर्ममाथि नै प्रहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन् ।
आशिकाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छन्, “समानुपातिक भनेको पिछडिएको र अल्पसंख्यक वर्गलाई राज्यको नीति निर्माणमा ल्याउनु हो, तर यहाँ भ्रष्ट ठेकेदार र बिचौलियाका छोराछोरी सांसद र मन्त्री बन्ने भए । के नेपोकिड विरुद्ध ७३ जना जेन्जी भाइबहिनीले दिएको बलिदान यही दिन देख्नका लागि हो ?”
उनको यो प्रतिक्रिया रास्वपाको बन्दसूचीमाथि उठेको प्रश्नसँग जोडिएको छ । रास्वपाको सूचीमा ७७ जिल्लामध्ये ४४ जिल्लाको प्रतिनिधित्व शून्य रहेको र चितवन तथा मोरङ जस्ता सीमित जिल्लाका व्यक्तिहरूको वर्चस्व देखिएपछि भौगोलिक र सामाजिक समावेशितामाथि प्रश्न उठेको छ । तामाङको टिप्पणीले यो बहसलाई थप तताएको छ ।