काठमाडौँ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, साउनदेखि मंसिरसम्ममा १ खर्ब ३ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास) आयात भएको हो ।
यो रकम गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब रुपैयाँले बढी हो । गत वर्ष यस अवधिमा १ खर्ब १ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
तथ्याङ्कअनुसार, पाँच महिनामा सबैभन्दा धेरै ४५ अर्ब ६० करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यसैगरी, २७ अर्ब ३३ करोडको पेट्रोल, २२ अर्ब ३९ करोडको खाना पकाउने ग्यास र ८ अर्ब ३४ करोडको हवाई इन्धन आयात भएको छ ।
गत वर्षको तुलनामा डिजेल, पेट्रोल र हवाई इन्धनको आयात परिमाण र रकम दुवै बढेको छ । खाना पकाउने ग्यासको आयात परिमाण बढे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले रकम भने केही कम बाहिरिएको छ । चिसो मौसममा खपत बढ्ने भएकाले ग्यासको आयात बढेको हो ।