काठमाडौँ ।
आज २८ डिसेम्बर, विश्व इतिहासमा विभिन्न महत्वपूर्ण घटनाहरू भएका छन् । नेपालको इतिहासमा पनि आजको दिन विशेष छ ।
नेपालमा राजतन्त्रको अन्त्य (सन् २००७):
आजकै दिन नेपालको अन्तरिम संविधानमा संशोधन गरी राजतन्त्रको अन्त्य भएको घोषणा गरिएको थियो । यसले करिब २५० वर्ष लामो शाहवंशीय राजतन्त्रको औपचारिक अन्त्यको बाटो खोलेको थियो । पछि १५ जेठ २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
राजा वीरेन्द्रको जन्म (सन् १९४५):
नेपालका पूर्वराजा स्वर्गीय वीरेन्द्र वीर विक्रम शाहदेवको जन्म आजकै दिन भएको थियो । नेपाली मितिअनुसार उनको जन्म १४ पुस २००२ मा भएको हो ।
विश्वका अन्य प्रमुख घटनाहरू:
सन् १९७२: किम इल सुङ उत्तर कोरियाको प्रथम राष्ट्रपति बने, जसले त्यहाँ तानाशाही शासनको जग बसाल्यो ।
सन् १९०८: इटालीमा गएको ७.१ रेक्टर स्केलको महाभूकम्पमा करिब दुई लाख मानिसको मृत्यु भयो ।
सन् १८८५: भारतमा अंग्रेजविरुद्ध लड्न भारतीय राष्ट्रिय कंग्रेसको स्थापना भयो ।
सन् २०१४: इन्डोनेसियामा एयर एसियाको विमान दुर्घटना हुँदा १६२ जनाको मृत्यु भयो ।
सन् २०१९: सोमालियाको राजधानी मोगादिसुमा आतंकवादी संगठन अल-सबाबले गराएको ट्रक बम विस्फोटमा ८४ जनाको मृत्यु भयो ।