काठमाडौँ
टेक्सास राज्यको ग्याल्भेस्टन नजिक मेक्सिकन नौसेनाको एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घना कुहिरोका बीच सोमबार भएको दुर्घटनामा गम्भीर रूपमा जलेको एक बालकलाई उपचारका लागि लैजाँदै गरिएको विमान समुद्रमा खसेको हो । उडान ट्र्याकिङ वेबसाइटका अनुसार उक्त विमान स्थानीय समयअनुसार दिउँसो ३ः०१ बजे ग्याल्भेस्टन बे क्षेत्रमाथि अन्तिमपटक रेकर्ड भएको थियो ।
मेक्सिकोको नौसेना सचिवालयका अनुसार दुर्घटनामा एक व्यक्ति अझै बेपत्ता छन् भने दुई जनालाई जीवितै उद्धार गरिएको छ । विमान मेक्सिकन बालबालिकालाई गम्भीर जलनको उपचार उपलब्ध गराउने ‘मिचोउ एन्ड माउ फाउन्डेसन’को तर्फबाट चिकित्सा मिसनमा सहभागी थियो । उद्धार कार्य अमेरिकी कोस्ट गार्डसँगको समन्वयमा सञ्चालन गरिएको थियो ।
दुर्घटनास्थलको भिडियोमा पानीमा डुबेको विमानको भग्नावशेष देखिनुका साथै प्रत्यक्षदर्शी र सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा जुटेको देखिन्छ । स्थानीय याट कप्तान स्काइ डेकर जुनियरले घाइते अवस्थामा पानीभित्र फसेकी एक महिलालाई उद्धार गरेको बताएका छन् । घटनाप्रति मिचोउ एन्ड माउ फाउन्डेसनले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना जनाएको छ ।