काठमाडौँ ।
नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ । सभापति शेर बहादुर देउबाले शनिबार शीर्ष पदाधिकारीहरूसँग गरेको छलफलमा यस्तो सहमति जुटेको हो ।
सभापति देउवाको निवासमा भएको छलफलमा कार्यवाहक सभापति पूर्ण बहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए ।
बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भए पनि नयाँ मितिबारे भने टुंगो लागेको छैन । केही दिनभित्र बस्ने कार्यसम्पादन समितिको बैठकले यसबारे अन्तिम निर्णय लिने बताइएको छ ।
छलफलमा विधान संशोधनका लागि समिति गठन गर्ने र अनुशासनको कारबाहीमा परेकाहरूको बाँकी अवधि मिनाहा गर्ने विषयमा पनि सहमति भएको छ ।
कांग्रेसले यसअघि पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि क्रियाशील सदस्यता विवाद अझै टुंगिन सकेको छैन, जसका कारण कार्यतालिका प्रभावित हुने देखिएको हो ।