काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक केन्द्रद्वारा नागरिक अगुवा समाजसँग अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सहिदहरूको स्मरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कमा बुधबार विभिन्न नागरिक समाजका अगुवाहरूको उपस्थितिमा अवलोकन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
सहिद तथा शान्ति पार्क निजामति स्मारक केन्द्रिय सामुदायिक वन क्षेत्रमा पर्यावरणीय पर्यटन प्रवर्द्धन गर्दै पार्क क्षेत्रको भौतिक, प्राकृतिक, वन तथा वनस्पति स्रोतको दिगो विकास गर्ने लक्ष्य रहेको अध्यक्ष सुदर्शन सिग्देलले बताए। उद्यमशीलतामार्फत आत्मनिर्भर योजना निर्माण गर्दै सहिद परिवारलाई समेत समेट्ने कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो।
अध्यक्ष सिग्देलले भने, “हरेक नागरिक समाजले सहिदको महत्व र बलिदानलाई चासोका साथ स्मरण गर्दै सहिद परिवारलाई सम्झेर अगाडि बढ्नुपर्छ। यस अभियानमा सबैको साथ र सहयोग अपेक्षित छ।”
पूर्व आईजीपी शैलेन्द्र खनालले सहिदको स्मरण तथा सहिद परिवारको भावनाको कदर स्वरूप गरिएको यो कार्यक्रम अनुसरणीय रहेको बताए। पार्कको उचित प्रवर्द्धन आवश्यक रहेकोमा पनि उनले जोड दिए।
त्यस्तै, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सहिदहरूको बलिदानको उचित कदर गरिएको उल्लेख गर्दै स्मारकलाई तीर्थस्थलका रूपमा सबैले कम्तीमा एकपटक भ्रमण गर्नुपर्ने बताए। सहिदको बलिदान सम्झेर भए पनि देश परिवर्तनका लागि सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
डा. बाबुराम गौत्तमले सहिदहरूले दिएको बलिदानअनुरूप अझै पनि देशमा अपेक्षित परिवर्तन हुन नसकेको बताए। परिवर्तन हुन नसक्दा सहिदको बलिदान सम्झेर आफू भावुक भएको उनको भनाइ थियो।
त्यस्तै, डा. सुन्दर सिंह बोहोराले स्मारकलाई तीर्थस्थल सम्झेर भए पनि सबैले अवलोकन तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
पार्कको स्तर उन्नतिका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, पूर्व आईजीपी शैलेन्द्र खनाल, डा. बाबुराम गौत्तम तथा डा. सुन्दर सिंह बोहोराको उपस्थिति रहेको थियो।