काठमाडौँ
बुर्किना फासोले नाइजेरियाली वायु सेनालाई आफ्नो हवाई क्षेत्र बिना अनुमति प्रवेश गरेको आरोप लगाएको छ। सोमबार एक नाइजेरियाली C-130 विमानले प्राविधिक समस्याका कारण आपत्कालीन अवतरण गरेपछि विमानमा सवार ११ जना नाइजेरियाली सैनिकलाई केही समयका लागि नियन्त्रणमा लिएको बुर्किनाबे सुरक्षा स्रोतले जनाएको छ। बुर्किना फासोका गृहमन्त्री एमिल जेर्बोले विमानले अनुमति नलिई प्रवेश गरेको दाबी गरे।
बुर्किना फासो, माली र नाइजरको सैन्य सरकारले संयुक्त वक्तव्य जारी गर्दै आफ्नो हवाई क्षेत्र र सार्वभौमिकता उल्लङ्घन भएको पुष्टि गरेको बतायो। उनीहरूले यस कार्यलाई “अमित्रवत् कदम” भन्दै सीमा सुरक्षालाई उच्च सतर्कतामा राखिएको घोषणा गरे।
तर नाइजेरियाली वायु सेनाले भने प्राविधिक त्रुटिका कारण विमानले सबै सुरक्षा प्रक्रियाअनुसार नजिकैको बोबो-डियुलासो विमानस्थलमा अवतरण गरेको स्पष्टीकरण दियो। उनीहरूले चालक दल सुरक्षित रहेको र बुर्किनाबे अधिकारीबाट सम्मानजनक व्यवहार पाएको बताए। पछि बुर्किना फासोले सैनिकहरूलाई रिहा गरी नाइजेरिया फर्किन अनुमति दिएको पुष्टि भयो।
विश्लेषकहरूले यो घटना बेनिनमा आइतबार भएको कुप प्रयासपछि इकोवासको सैनिक तैनातीसँग जोडेर हेरिरहेका छन्। नाइजेरियाले कुप नियन्त्रणका लागि जेट र सैनिक तैनाथ गर्दै नेतृत्व गरेको थियो। उता, बुर्किना फासो, माली र नाइजर अहिले इकोवासबाट बाहिरिएर पश्चिमी मुलुकहरूसँग सम्बन्ध टाढ्याउँदै रूसतर्फ झुक्दै गएका छन्।