काठमाडौँ
रूससँगको युद्ध रोक्नका लागि तयार भइरहेको शान्ति वार्तामाथि अमेरिकी दबाब बढ्दै जाँदा युक्रेनले ह्वाइट हाउसलाई नयाँ संशोधित शान्ति योजना पेस गर्ने तयारी गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले कुनै पनि हालतमा आफ्नो भूमी त्याग्न नसक्ने बताएका छन्। उनलाई अनुसार संविधान, अन्तर्राष्ट्रिय कानून र नैतिक आधारबाट पनि यस्तो सम्झौता स्वीकार्य छैन।
युरोपेली तथा नाटो नेतासँगको भेटपछि जेलेन्स्कीले आफ्नो टोलीले अमेरिकालाई नयाँ प्रस्ताव चाँडै पठाउन सक्ने बताए। संयुक्त राज्य अमेरिकाले प्रस्तुत गरेको २८ बुँदे प्रारम्भिक प्रस्ताव अत्यधिक रूसपक्षीय भएको भन्दै युक्रेन र यूरोपेली नेताहरूले अस्वीकार गरेका थिए। त्यसलाई अहिले घटाएर २० बुँदा गरिएको छ, तर युक्रेन पक्षका हितका मुद्दा नहटाइएको जेलेन्स्कीको दाबी छ।
भूमि समर्पणको विषयमा जेलेन्स्की निकै कडा भए। डोनबास क्षेत्र र जपोरिज्झिया आणविक ऊर्जा केन्द्रजस्ता संवेदनशील मुद्दामा कुनै सम्झौता हुन नसक्ने उनले स्पष्ट पारे। अमेरिकाको प्रारम्भिक ड्राफ्टले डोनबासलाई पूर्ण रूपमा रूसलाई दिनुपर्ने र जपोरिज्झियाबाट उत्पादन हुने ऊर्जा दुई देशले बाँड्ने प्रस्ताव गरेको थियो।
यसबीच, पूर्वी मोर्चामा लडाइँ जारी छ। रूसले पोक्रोभ्स्क कब्जा गरेको दाबी गरे पनि युक्रेनले अस्वीकार गरेको छ, र त्यहाँका सैनिकहरू लडाइँ जारी रहेको दृश्य बीबीसीलाई देखाइएको थियो। रूसले माइर्नोहराडतर्फ अग्रसर भएको बताएको छ।
रूसी ड्रोन आक्रमणपछि उत्तर–पश्चिमी सुमी शहर अन्धकारमा डुबेर विद्युत् सेवा अवरुद्ध भएको छ। उता, तेरनोपिलमा गत महिनाको घातक मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ३८ पुगेको बताइएको छ।