काठमाडौँ।
सरकारले दिवंगत पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरेको छ । सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राज्यको तर्फबाट पत्रकार रजकलाई शहीद घोषणा गर्ने निर्णय भएको जानकारी दिए । गत चैत १५, २०८१ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी भएको घरमा जलेर पत्रकार रजकको मृत्यु भएको थियो । उनको परिवारले लामो समयदेखि शहीद घोषणाको माग गर्दै आएको थियो ।
यसअघि सरकारले रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटर पदमा रोजगारीको व्यवस्था गरिसकेको छ ।
साथै, मन्त्रिपरिषद् बैठकले 'जेन-जी' आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेको छ । उनीहरूका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको आवश्यक व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ ।