काठमाडौँ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपालको आर्थिक अवस्था कमजोर भएकाले एकैपटक सबै पूर्वाधार विस्तार गर्न सम्भव नभएको बताएका छन्। उनले उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित 'सडक दुर्घटना न्यूनीकरण सचेतना' कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले सडकमा ट्राफिक लाइट जडान, सडक सुरक्षा र प्रहरीका भौतिक संरचना विस्तार जस्ता काम सरकारको प्राथमिकतामा भए पनि आर्थिक सीमितताका कारण तत्काल सम्भव नभएको स्पष्ट पारे।
उनले ट्राफिक नियमलाई व्यक्तिगत व्यवहारमा उतार्न आग्रह गर्दै नागरिक अनुशासनमा नै नियमको प्रभावकारिता निर्भर रहने बताए। "ट्राफिक नियम जीवन र व्यवहारमा कार्यान्वयन गरौँ। सकारात्मक दृष्टिकोण बिना कुनै पनि कार्यक्रम सफल हुँदैन," मन्त्री गुप्ताले भने, "चालक–सहचालक र ट्राफिकबीच परस्पर विश्वास र सकारात्मकता आवश्यक छ।"
सरकारले गर्नुपर्ने कामहरू निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले उपलब्ध स्रोत–साधनको सही प्रयोगबाट पनि ठूलो परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे। सकारात्मक सोच र सहकार्यले नै सफलता मिल्ने उनको भनाइ थियो।