काठमाडौँ।
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि बिहीबार बसेको सात दलीय बैठक निष्कर्षविहीन भएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मुख्यमन्त्री पदमा आफ्नो दाबी नछाडेपछि सहमति जुट्न नसकेको हो।
प्रदेश प्रमुख सुरेन्द्र लाभले शुक्रबार साँझ ५ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न समयसीमा दिएका छन्, तर गठबन्धनका मुख्य दुई दलबीच नै नेतृत्वमा कुरा मिल्न सकेको छैन।
मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाका नेता जितेन्द्र सोनल मुख्य दाबेदारका रूपमा देखिएका छन्। कांग्रेसले अन्य सबै दलले सरकारको नेतृत्व गरिसकेकाले अब आफ्नो पालो भएको स्वाभाविक दाबी गरेको छ। उता, लोसपाले भने यसअघि आफ्नो नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलेकाले नयाँ प्रक्रिया त्यहीँबाट सुरु हुनुपर्ने अडान राखेको छ।
बैठकमा सहभागी जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामआशिष यादवले कांग्रेस र लोसपाबीच सहमति नभएसम्म अन्य दलले निर्णय लिन नसक्ने बताए। उनका अनुसार, दुई दललाई आपसमा बसेर सहमति गर्न समय दिइएको छ र आजै राति पुनः बैठक बस्ने सम्भावना छ।
प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। बैठकमा कांग्रेस, जसपा, जनमत, लोसपा, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका नेताहरूको सहभागिता थियो।