काठमाडौँ
रूसले लोकप्रिय अनलाइन गेमिङ प्लेटफर्म रोब्लक्सलाई बालसुरक्षा र उग्रवादी सामग्रीको चिन्ताका बीच बन्द गरेको छ। देशको सञ्चार नियामक रोसकोमनाड्जोर का अनुसार रोब्लक्समा बालबालिकाको “आत्मिक तथा नैतिक विकासलाई नकारात्मक असर पार्ने” धेरै सामग्री फेला परेको भन्दै पहुँच रोकिएको हो।
रूसी अधिकारीहरूका अनुसार रोब्लक्सका सर्वरहरूमा आतंककारी गतिविधि नक्कल गर्ने दृश्य, जुवासम्बन्धी खेल, र रूसमा प्रतिबन्धित एलजीबीटी–सम्बन्धी सामग्रीसमेत फैलिएको पाइयो। यससँगै बालबालिकामाथि यौन दुर्व्यवहार तथा गोप्य तस्वीरहरूको आदान–प्रदान हुने रिपोर्टले चिन्ता थपेको छ।
रोब्लक्स विश्वकै लोकप्रिय गेमिङ प्लेटफर्ममध्ये एक भए पनि बालसुरक्षा मामिलामा धेरै आलोचना खेप्दै आएको छ। अहिले पनि टर्कीसहित केही देशले बालसुरक्षाको कारण यो प्लेटफर्म प्रतिबन्ध गरिसकेका छन्।
कम्पनीका प्रवक्ताले रोब्लक्स सञ्चालन हुने सबै देशका कानुनको सम्मान गर्ने बताउँदै प्लेटफर्मलाई “सिकाइ र सृजनशीलताका लागि सकारात्मक स्थान”का रूपमा व्याख्या गरे। तर पछिल्ला विवादपछि कम्पनीले बालबालिकालाई वयस्क अनजानसँग च्याट गर्न नदिने निर्णय गरेको छ।