काठमाडौँ
इटालियन लक्जरी फेसन हाउस भ्यालेन्टिनो आफ्नो नयाँ ‘डेभेन’ ह्याण्डब्यागको प्रचारका लागि कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर बनाएको विज्ञापनका कारण आलोचनामा परेको छ। कम्पनीले डिजिटल कलाकारहरूसँगको सहकार्यमा डिजिटल क्रिएटिभ प्रोजेक्टको हिस्सा भनेर एआई प्रयोग गरेको प्रचार सामग्री सार्वजनिक गरेको थियो। तर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यसलाई "अस्वाभाविक", "सस्तो" र "आलस्यपूर्ण" भन्दै आलोचना गरेका छन्।
भ्यालेन्टिनोले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा मोडलहरू भ्यालेन्टिनोको लोगो र ह्याण्डब्यागसँग मिसिएर एक अनौठो दृश्य सिर्जना गरेको देखाइएको छ। कतिपय दृश्यमा मोडलहरू सुनौलो ह्याण्डब्यागबाट निस्किएको जस्तो देखिन्छ भने कम्पनीको लोगो मानिसको हातमा परिणत हुँदै विभिन्न घुमाउरा आकारमा परिणत भएको देखाइएको छ।
फेशन उद्योगमा जेनरेटिभ एआई उपकरण प्रयोग गरेर छिटो भिडियो र चित्र निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले उत्पादन र प्रचार लागत घटाउने अवसर प्रदान गर्ने भए पनि, मानव कलाकारहरूलाई विस्थापित गर्ने र फेसन उत्पादनको गुणस्तरमा असर पार्ने चिन्ता पनि बढाएको छ।
सांस्कृतिक विशेषज्ञहरूले भने, भ्यालेन्टिनोले एआई प्रयोगको बारेमा स्पष्ट जानकारी दिएको भए पनि, दर्शकहरूले यसलाई "मानव सर्जनशीलता भन्दा दक्षतामाथि प्राथमिकता दिने" रूपमा लिएका बताएका छन्। यसबाट लक्जरी ब्राण्डमा मानवीय उपस्थिति कम हुने जोखिम बढेको छ।