काठमाडौँ
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आधिकारिक एकदिने भ्रमणका लागि आयरल्यान्डको डब्लिन पुगेका छन्। उनलाई प्रथम महिला ओलेना जेलेन्स्कासहित डब्लिन विमानस्थलमा आयरिश प्रधानमन्त्री मिखाइल मार्टिन र परराष्ट्र मन्त्रालयका राज्यमन्त्री थोमस बर्नले स्वागत गरे। यो पहिलो पटक कुनै युक्रेनी राष्ट्रपतिले आयरल्यान्डको औपचारिक भ्रमण गरेको अवसर हो।
जलेन्स्कीले प्रधानमन्त्रीसँग द्विपक्षीय भेट, नव–नियुक्त आयरिश राष्ट्रपति क्याथरिन कोन्नोल्लीलाई शिष्टाचार भेट र आयरिश संसदका दुई सदन डाइल र सेनेटलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी उनले आयरल्यान्ड–युक्रेन आर्थिक फोरमको उद्घाटनमा पनि सहभागी हुनेछन्। आयरिश सरकारका अनुसार यो भ्रमण दुवै देशबीचको "घनिष्ट र सुखद सम्बन्ध" अझ मजबुत बनाउने अवसर हो।
युद्ध सुरु भएदेखि १२०,००० भन्दा बढी युक्रेनी नागरिकले आयरल्यान्डमा शरण मागेका छन्, जसमा लगभग ८०,000 हाल पनि त्यहाँ बसोबास गर्दैछन्। डब्लिनमा बसोबास गर्ने युक्रेनी शरणार्थीहरू हरेक आइतबार चर्चमा भेला भई शान्तिका लागि प्रार्थना गर्छन्। उनीहरूले चलिरहेका शान्ति–वार्ताले युद्ध अन्त्य हुने आशा राखेका छन् र आयरल्यान्डले दिएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।
भ्रमणका कारण डब्लिनमा सडक आवागमनमा परिवर्तन गरिएको छ। मंगलबार विभिन्न स्थानमा अस्थायी सडक बन्द, सुरक्षा कन्भोयका कारण रोलिङ रोड–क्लोजर, तथा विमानस्थल जाने यात्रुहरूका लागि अतिरिक्त समय लिनु पर्ने सुझाव प्रहरीले दिएको छ।