काठमाडौँ
भारतको पहिलो सूर्य अवलोकन अन्तरिक्ष मिशन आदित्य–एल१ का लागि २०२६ विशेष वर्ष हुने अपेक्षा गरिएको छ। यो वर्ष सूर्यको अधिकतम गतिविधि चक्र हुने भएकाले मिशनले पहिलो पटक सूर्यको चरम गतिविधि प्रत्यक्ष अवलोकन गर्ने मौका पाउनेछ।
सूर्यको अधिकतम चक्रमा कोरोनल मास ईजेक्सन र सौर्य आँधीको संख्या निकै बढ्छ। एक कोरोनल मास ईजेक्सन ट्रिलियन किलो तौलको हुनसक्छ र ३००० किमी प्रति सेकेन्डको गति पुग्न सक्छ, जसले पृथ्वीका उपग्रह, विद्युत् जाल र सञ्चार प्रणालीमा प्रभाव पार्न सक्छ।
आदित्य–एल१ को विशेषता भनेको यसको भिजिबल इमिसन लाइन कोरोनोग्राफले सूर्यको फोटोस्फियरलाई आर्टिफिसियल चन्द्रमाको जस्तो ब्लक गर्दै कोरोनाको निरन्तर अवलोकन गर्न सक्ने क्षमता हुनु हो। यसले कोरोनल मास ईजेक्सनको तापक्रम, उर्जा र मार्ग पहिचान गर्न सक्ने भएकाले पृथ्वी र उपग्रह सुरक्षित गर्न अग्रिम चेतावनी प्रणालीको रूपमा काम गर्न सक्नेछ।
भारतीय अन्तरिक्ष विज्ञहरू नासा सँग सहकार्य गर्दै हालसम्मका ठूला कोरोनल मास ईजेक्सनको डाटा विश्लेषण गरिरहेका छन्। यसबाट सूर्यको चरम गतिविधि अवधिमा आउने जोखिमको मूल्याङ्कन र उपग्रह संरक्षणका उपायहरू तयार गर्ने योजना छ।