काठमाडौँ।
लामो समयदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले अन्ततः पार्टीको १५ औं महाधिवेशनको मिति तय गरेको छ। सोमबार सानेपामा बसेको बैठकले आउँदो पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकमा कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेलगत्तै महामन्त्री गगन थापाले 'अतिरिक्त प्रस्ताव' दर्ता गराएका छन्। थापाले नियमित महाधिवेशन कुनै कारण वा नियतले पुसभित्र नहुने अवस्था आएमा विशेष महाधिवेशनमा जानुपर्ने अडान राखेका छन्।
"कथमकदाचित पुसभित्र कार्यतालिका बमोजिम १५ औं अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पुस अन्तसम्म कुरिरहनुपर्दैन, पुसको उपयुक्त समयमै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्छ," थापाले आफ्नो लिखित प्रस्तावमा भनेका छन्। उनको यो प्रस्तावलाई केन्द्रीय समितिमा दर्ज गरिएको छ।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग गर्दै महाधिवेशनको बहस चुलिएको थियो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई बलियो साथ दिएका थिए।
महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै बुझाएको हस्ताक्षर फिर्ता गराएर मात्र कार्यतालिका ल्याउने संस्थापन पक्षको अडान थियो। तर, महामन्त्रीद्वय थापा र शर्मा हस्ताक्षर फिर्ता नहुने अडानमा अडिग रहेपछि संस्थापन पक्ष नियमित महाधिवेशनको कार्यतालिका ल्याउन बाध्य भएको हो।