काठमाडौँ
इन्डोनेसियामा गत हप्ता आएको विनाशकारी बाढीमा मृत्यु संख्यामा तीव्र वृद्धि हुँदै ५०० भन्दा बढी पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। दुर्लभ साइकलोनका कारण उत्पन्न बाढीले आचेह, उत्तर सुमात्रा र पश्चिम सुमात्रा सहित तीन प्रान्तमा ठुलो क्षति पुर्याएको छ, जसले करिब १४ लाख मानिसलाई प्रभावित गरेको छ।
अझै ५०० मानिस हराइरहेका छन् भने हजारौँ घाइते छन्। धेरै स्थानमा सडक भासिएको, पुल बगाएको र आवतजावत पूर्णरूपमा अवरुद्ध भएको कारण उद्धारकर्मीहरू पैदल वा मोटरसाइकलका भरमा दुर्गम बस्ती पुग्न बाध्य भएका छन्।
स्थानीयहरूका अनुसार बाढीको बहाव “सुनामीजस्तै” अनुभव भएको थियो। घर–धुरी बगाएको, खेत–बारी माटोले ढाकेको र काठका ठूला ढिस्को जम्मा भएको तस्वीरहरू बाहिर आएका छन्। हराइरहेका आफन्तको खोजीमा धेरै परिवार त्रास र निराशामा छन्।
कयौँ क्षेत्र अझै खाना–पानी अभावमा छन्। कतिपयले दुई–तीन दिनदेखि राम्ररी खान नपाएको गुनासो गरेका छन्। उद्धार ढिलो भएको भन्दै सरकारी तयारी र प्रतिक्रियाप्रति आलोचना बढ्दै गएको छ। राष्ट्रपति प्राबोवो सुवियान्तोले अवस्थालाई नियन्त्रणमा लिन सबै प्रयास भइरहेको बताए पनि प्रभावितहरू सहयोग ढिलो भएको बताइरहेका छन्।
यसैबीच थाइल्यान्ड, मलेसिया र श्रीलंकामा पनि भीषण वर्षा र बाढीका कारण सयौँले ज्यान गुमाएका छन्। विभिन्न मनसुन र दुर्लभ साइकलोनहरूको संयुक्त प्रभावले क्षेत्रव्यापी विपत्ति निम्त्याएको मौसमविद्हरूले बताएका छन्। जलवायु परिवर्तनले यस्ता वर्षा र बाढीको तीव्रता अझ बढाएको सम्भावना पनि विशेषज्ञहरूको भनाइ छ।