काठमाडौँ
क्यालिफोर्नियाको स्टकटन सहरमा भएको पारिवारिक जमघटमा गोलीकाण्ड हुँदा तीन बालबालिका सहित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूको उमेर क्रमशः ८, ९, १४ र २१ वर्ष रहेको अधिकारीहरूले बताएका छन्। घटनामा अन्य ११ जना घाइते भएका छन् ।
सन्दिग्ध आक्रमणकारी फरार रहेको र गोलीकाण्ड "लक्षित" हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ। प्रहरीका अनुसार घटना स्थानीय समयअनुसार साँझ ६ बजेतिर एक रेस्टुरेन्टभित्र भएको हो, जहाँ परिवारजनहरू भेला भएका थिए।
स्टकटनका उप–मेयर जेसन लीले यसलाई "जन्मदिनको समारोहजस्तो ठाउँमा हुने भयावह घटना" भन्दै कडा शब्दमा निन्दा गरेका छन्। प्रहरी प्रवक्ता हेथर ब्रेण्टले यो घटना "अवर्णनीय" भएको बताउँदै अनुसन्धान अत्यन्त सक्रिय अवस्थामा रहेको र जानकारी सीमित रहेको उल्लेख गरिन्।
स्टकटनका मेयर क्रिस्टिना फुगाजिले यस्तो घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताइन्। क्यालिफोर्नियामा कडा हतियार कानून भए पनि पछिल्ला वर्षमा यसका विरुद्ध कानुनी चुनौतीहरू बढ्दै गएका छन्, जसले राज्यभरि बन्दुक नियन्त्रणसम्बन्धी बहस पुनः तीव्र बनाएको छ।