काठमाडौँ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौलीमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुधौली नगरपालिका–२ गागनमा पोखराबाट कटारीतर्फ जाँदै गरेको बस र डकाहाबाट झुगातर्फ आउँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार, दुर्घटनापछि बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराई फरार भएका छन् र उनको खोजी कार्य जारी रहेको छ ।