काठमाडौँ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये २७३ जना अझै सम्पर्कमा आएका छैनन् ।
जेलर अशोककुमार क्षेत्रीका अनुसार, भागेकामध्ये ४० भारतीय नागरिकसहित ३०३ जना कैदीबन्दी मात्रै फिर्ता भएका छन् । फिर्ता हुनेमध्ये १३ जनालाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी नेपाललाई बुझाएको थियो भने बाँकी कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका हुन् ।
कारागार प्रशासनले भदौ २५ गते नै सार्वजनिक सूचना जारी गरी भागेका कैदीबन्दीलाई फर्किन आह्वान गरेको थियो ।
जेलर क्षेत्रीले तोकिएको समयमा नफर्किने फरार कैदीबन्दी र उनीहरूलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन् । फरार कैदीहरूको खोजी कार्य जारी रहेको पनि उनले बताए ।