काठमाडौँ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रामबहादुर बमजन थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। जिल्ला अदालत सर्लाही र उच्च अदालत जनकपुरको थुनामा राख्ने आदेशविरुद्ध उनी सर्वोच्च पुगेका हुन्।
बमजनमाथि २०८१ फागुन ५ गते सर्लाही जिल्ला अदालतमा ८ करोड २७ लाख रुपैयाँभन्दा बढीको बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो, जसलाई उच्च अदालत जनकपुरले पनि सदर गरेको थियो। दुवै अदालतको आदेश बदर गरी थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने उनको माग छ।
यसअघि, एक नाबालिका अनुयायीमाथि यौन दुराचार गरेको आरोपमा सर्लाही जिल्ला अदालतले बमजनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। तर, उच्च अदालत जनकपुरले उक्त फैसला उल्ट्याउँदै गत चैतमा उनलाई सफाइ दिएपछि उनी जेलमुक्त भएका थिए। जेलमुक्त भएलगत्तै उनलाई सम्पत्ति शुद्धीकरणको अर्को मुद्दामा पक्राउ गरिएको थियो।