काठमाडौँ
विश्व स्वास्थ्य सङ्गठनले करिब तीन वर्षदेखि चलिरहेको व्यापक खोप अभियानपछि इन्डोनेसियाको पोलियो प्रकोप समाप्त भएको घोषणा गरेको छ। देश २०१४ मा पोलियोमुक्त घोषित भए पनि ८ वर्षपछि आचे प्रान्तमा पुनः प्रकोप देखा परेको थियो, जसको मुख्य कारण कमजोर नियमित खोप दर र खराब सरसफाइ अवस्था मानिन्छ।
आचेमा २०२१ मा केवल ५०.९% शिशुले मात्र पोलियो खोप पाएका थिए। धार्मिक भ्रम, खोपबारे गलत सूचना, र सरकारको प्राथमिकता कोभिड-१९ खोप अभियानतर्फ केन्द्रित हुनुजस्ता कारणले खोप दर झनै कमजोर भयो। यतिबेला प्रकोप बाँटन, पश्चिम जाभा, मध्य जाभा, उत्तर मलुकु, पपुआ लगायतका प्रदेशमा फैलिएको थियो।
यी संक्रमणहरूपछि इन्डोनेसियाले देशव्यापी रूपमा करिब ६ करोड अतिरिक्त पोलियो खोप डोज बालबालिकालाई दियो। २०२४ जुनमा दक्षिण पपुआमा अन्तिम केस पुष्टि भएदेखि हालसम्म कुनै नयाँ संक्रमण नदेखिएकोले विश्व स्वास्थ्य संगठनले प्रकोप समाप्त घाेषणा गर्यो। अधिकारीहरूका अनुसार यो सफलता स्वास्थ्यकर्मी, अभिभावक र समुदायहरूको संयुक्त प्रयासले सम्भव भयो।
इन्डोनेसियाका स्वास्थ्य मन्त्रीले देशलाई फेरि पोलियोमुक्त राख्न नियमित खोप प्रणाली सुदृढ गर्ने, निगरानी बढाउने, मन्त्रालय तथा समुदायबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाए। युनिसेफले पनि यो उपलब्धि एकताबद्ध प्रयासको परिणाम भएको भन्दै बालबालिकालाई भविष्यमा पनि खोप सुविधा सुनिश्चित गर्न निरन्तर काम गर्नुपर्ने बतायो।