काठमाडौँ
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसीनालाई अनुपस्थितमै मृत्युदण्ड सुनाएपछि ढाकाले भारतलाई तुरुन्तै उहाँलाई प्रत्यर्पण गर्न आग्रह गरेको छ। हसिना गत वर्ष विद्यार्थी आन्दोलनका बीच भारत भागेपछि निर्वासनमै बसिरहेकी छन्। बङ्गलादेशी अदालतले उनलाई मानवअधिकारविरुद्धका पाँच अपराधमा दोषी ठहर गर्दै आन्दोलनका क्रममा प्रदर्शनकारी मार्न आदेश दिएको आरोपमा सजाय सुनाएको हो, तर हसिनाले आरोपलाई राजनीतिक प्रेरित र पूर्वाग्रही भनेकी छन्।
ढाकाले दुवै देशबीचको प्रत्यर्पण सन्धि अन्तर्गत भारतले हसिनालाई हस्तान्तरण गर्नै पर्ने दाबी गरेको छ। तर भारतले भने केवल बङ्गलादेशमा शान्ति, लोकतन्त्र र स्थिरताको हितमा सबै पक्षसँग सहकार्य गर्ने बताएको छ। दिल्लीले ढाकाको अनुरोधमा प्रत्यक्ष टिप्पणी गरेको छैन, तर राजनीतिक संवेदनशीलता र परिस्थितिलाई ध्यानमा राख्दै सावधानीपूर्वक अघि बढ्ने संकेत दिएको छ।
सन्धिका प्रावधानअनुसार प्रत्यर्पणका लागि अपराध दुवै देशमा दण्डनीय हुनुपर्छ। त्यसैगरी, यदि अनुरोध राजनीतिक रूपमा प्रेरित, अन्यायपूर्ण, खराब नियतमा गरिएको वा व्यक्तिलाई राजनीतिक उत्पीडनको सम्भावना रहेको मानिएको खण्डमा भारतलाई प्रत्यर्पण अस्वीकार गर्ने अधिकार छ। हत्या वा आतंकवादजस्ता गम्भीर अपराधलाई राजनीतिक प्रकृतिभन्दा अलग मानिए पनि, अन्य प्रावधानहरूले भारतलाई पर्याप्त कानुनी विवेक दिने व्यवस्था राखेका छन्।
भारतको एक्स्ट्राडिसन एक्ट 1962 ले समेत केन्द्र सरकारलाई कुनै पनि बेला प्रक्रियालाई रोकिने, आरोपितलाई मुक्त गरिने वा अनुरोध अस्वीकार गर्ने अधिकार दिन्छ। अनुरोध सामान्य, राजनीतिक प्रेरित, प्रपञ्चपूर्ण वा न्यायको हितमा नभएको देखिएमा भारतले हसिनालाई फिर्ता नपठाउने सम्भावना धेरै छ। यसैले, कानुनी प्रावधान र राजनीतिक परिस्थितिको आधारमा हसिनाको प्रत्यर्पण अत्यन्तै असम्भावित देखिन्छ।