काठमाडौँ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै खारेजीको मागसहित दायर रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । प्रदेशका ७ राजनीतिक दलका ७४ जना सदस्यले संयुक्त रूपमा यो रिट दायर गरेका हुन् ।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई अग्राधिकार दिँदै अन्तरिम आदेशबारे छलफल गर्न आजका लागि पेशी तोकेको थियो ।
यसअघि नै सर्वोच्चले अर्को एक रिटमाथि सुनुवाइ गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन असर पर्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललगायत दलका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियाले संविधानको उल्लंघन गरेको जिकिर गर्दै उनको नियुक्ति खारेज गर्न माग गरेका छन् ।