काठमाडौँ।
नेपालका सफल व्यवसायी मिन बहादुर गुरुङले 'जेनजी आन्दोलन' का क्रममा आफ्ना व्यापारिक प्रतिष्ठानहरूमा आगजनी र लुटपाट हुँदा पनि आफूले 'स्वीट पेन' (मीठो पीडा) महसुस गरेको बताएका छन्। कर दिवसको अवसरमा उत्कृष्ट करदाता सम्मान ग्रहण गर्दै गुरुङले आफूमाथि पटकपटक आक्रमण गरिए पनि विचलित नभई उठ्ने प्रयास गरिरहेको बताए।
बैंक र रोजगारी डुब्छन् भन्ने चिन्ताका बाबजुद पनि अनेक आक्रमणपछि आफू व्यवसायमा लगानी बढाउन बाध्य भएको उनको भनाइ छ। "देशको राजश्व खातामा कम पैसा जम्मा गरौँ भन्ने मलाई कहिल्यै लागेन। जति सक्छौँ तिरौँ भन्ने लाग्छ र हामीले तिरेको करबाटै देश बन्ने हो," उनले भने, "आखिर घुमेर त्यसको फाइदा हामीलाई नै हुने हो। म कोहीबाट लिन्नँ, दिन्छुमात्रै। भाटभटेनीले कमाउँदैन यसले दान गर्छ।"
आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापारको कारोबार गर्ने भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालि सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्म बनेको थियो। सोही कारण सरकारले व्यवसायी गुरुङलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो। गुरुङको यो भनाइले व्यवसायिक चुनौतीका बाबजुद पनि देशप्रतिको उनको समर्पण र सकारात्मक सोच झल्काउँछ।