काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् ।
प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
उनले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसद्बाट नबनेको, दलबाट नबनेको, जेन-जीबाट नबनेकोले यो सरकार कस्को भन्ने प्रश्न गरेका छन् ।
‘यो सरकार कसको प्रतिनिधि हो ? जेन-जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’
बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको बताए । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन, स्थान हद गर्न सरकार विभिन्न समूहका नाममा माग पत्र,ज्ञापन पत्र बुझाउनुमा पनि सरकारकै हात रहेको अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद् पुनर्स्थापना एक मात्रै विकल्प भएको बताए । संसद् विघटनलाई सिंगो देशले नै अस्वीकार गरेको उनले बताएका छन् ।