काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दिपक खड्काको कम्पनीले भोगचलन गरिरहेको नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटम दिएको म्याद सकिएपछि महानगरले यो कदम चालेको हो।
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट र माई च्वाइस नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएको थियो। खड्का ल्याण्डले स्काउटका दुई व्यावसायिक भवन पनि भाडामा लगाएको थियो, जसमा कुल ४८ वटा पसलहरू रहेका छन्। यी भवनहरू २०६३ र २०६४ सालमा टेन्डरमार्फत खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो।
बहाल बक्यौता नतिरेपछि महानगर प्रहरी डोजर लिएर संरचना भत्काउन पुगेको हो। स्काउटले बक्यौता नतिरेमा भवन तथा सामान जफत गर्ने चेतावनी दिएको थियो।