काठमाडौँ
चिनियाँ नागरिक शे झिजियाङ, जसले दक्षिणपूर्वी एसियामा अवैध अनलाइन जुवा र ठगी नेटवर्क सञ्चालन गरेको आरोप छ, थाइल्यान्डले चीनलाई प्रत्यर्पण गरेको छ । उनलाई २०२२ मा थाइ प्रहरीले इंटरपोलमार्फत् चिनियाँ अनुरोधमा पक्राउ गरेको थियो । लामो कानुनी प्रक्रियापछि थाइ अदालतले उनलाई चीन पठाउने आदेश कायम राखेपछि बुधबार उनले दुई सुरक्षाकर्मीको निगरानीमा बाङ्कक विमानस्थलबाट यात्रा गरे । यो कदम थाइल्याण्डका राजाको चीन भ्रमणको केही दिनअघि आएको हो, जसले दुबै देशबीचको सम्बन्ध अझ गहिरिएको सङ्केत गर्दछ ।
शे झिजियाङ दक्षिणपूर्वी एशियामा रहेका विशाल साइबर ठगी केन्द्रहरूका प्रमुख पात्रमध्ये एक हुन् । उनको सबैभन्दा चर्चित परियोजना म्यानमार–थाइ सीमामा रहेको श्वे कोक्को सहर हो, जसलाई चिनियाँ पर्यटकका लागि आकर्षक रिसोर्ट सहरको रूपमा प्रचार गरिएको छ । तर वास्तवमा त्यहाँ ठगी, पैसाको अवैध कारोबार र मानव बेचबिखनका गतिविधि हुने गरेको बताइन्छ । बीबीसीले यस वर्ष सहरको भ्रमण गर्दा केही मात्रै विदेशी पर्यटक भेटिएको र स्थानीयहरूले ठगी धन्दा अझै जारी रहेको बताएका थिए ।
शे झिजियाङ र उनको कम्पनी याताईलाई बेलायत र संयुक्त राज्य अमेरिकाले मानवअधिकार उल्लङ्घन र ठगी संलग्नताका कारण प्रतिबन्ध लगाएका छन् । कारागारमा उनले आफ्नो कम्पनीले कहिल्यै ठगी स्वीकृत नगर्ने दाबी गरे पनि श्वे कोक्को “सबैका लागि खुला सहर” भएकाले ठगहरू प्रवेश गर्न सक्ने स्वीकार गरेका थिए । उनका परियोजनाहरूमा स्थापन भएका जुवा केन्द्रहरूमा मानिसहरूलाई जबरजस्ती काम गराइने र ठगी गर्न बाध्य पारिने गरेको पनि उजागर गरिएको छ ।
शे झिजियाङ सन् १९८२ मा चीनको हुनान प्रान्तको एउटा गरीब गाउँमा जन्मिएका हुन् । १४ वर्षमै विद्यालय छोडी कम्प्युटर कोडिङ सिकेपछि उनले फिलिपिन्समा बसोबास गर्दै अनलाइन जुवा कारोबार सुरु गरेका थिए । चीनमा २०१४ मा अवैध लटरी सञ्चालन गरेको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो । पछि उनले आफ्नो धन्दा क्याम्बोडिया र अन्य देशमा विस्तार गरे । संयुक्त राष्ट्र संघका अनुसार दक्षिणपूर्वी एसियाका ठगी केन्द्रहरूमा लाखौं मानिस फसाइएका छन्, जसलाई नक्कली रोजगारीका बहानामा ल्याइ जबरजस्ती अनलाइन ठगी गर्न लगाइन्छ । चीनले पछिल्ला महिनाहरूमा यस्ता नेटवर्कमाथि कडा कारबाही गर्दै केही “माफिया” सदस्यलाई मृत्युदण्ड समेत दिएको छ ।