काठमाडौँ
इजरायली बसोबासीहरूले पश्चिम किनारामा हिंसात्मक आक्रमण तीव्र बनाएका छन् । मंगलबार दर्जनौं बसोबासीहरूले टुलकार्म नजिकैको बैत लिद गाउँमा रहेका फलस्तिनी गोदाममा आगजनी गर्दै ट्रकहरू जलाए । देइर शरफको बेडुइन बस्तीमा पनि आगो लगाइएको थियो । यस घटनामा केही फलस्तिनी घाइते भए । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो महिनामा बसोबासीहरूको हिंसात्मक आक्रमण सन् २००६ पछि अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।
इजरायलले सन् १९६७ को युद्धपछि कब्जा गरेको पश्चिम किनारा र पूर्व जेरुसलेममा करिब ७ लाख यहूदी बसोबासीका लागि १६० भन्दा बढी बस्ती निर्माण गरिसकेको छ, जहाँ करिब ३३ लाख फलस्तिनी पनि बसोबास गर्छन् । यी बस्तिहरू अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध मानिन्छन् । इजरायली सेनाले घटनास्थलमा पुगेर “दंगा नियन्त्रणका साधन प्रयोग गरी” केही बसोबासीलाई पक्राउ गरेको दाबी गरेको छ । तर सैनिकहरू नै पछि बसोबासीद्वारा आक्रमणमा परेका थिए ।
इजरायली राष्ट्रपति आइजाक हर्जोगले घटनालाई “गम्भीर र अस्वीकार्य” भन्दै निन्दा गरेका छन् । सेनाका केन्द्रीय कमान्ड प्रमुख मेजर-जनरल आवी ब्लुथले पनि हिंसा रोक्न कडा कदम चाल्न निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघका अधिकारी टम फ्लेचरले भने फलस्तिनीहरूलाई संरक्षण गर्न र आक्रमणकारीलाई जिम्मेवार ठहर गर्न आग्रह गरेका छन् । यस वर्ष मात्रै करिब १,५०० बसोबासी आक्रमण र ४,२०० भन्दा बढी रुख तथा बिरुवामा क्षति पुगेको छ ।
पश्चिम किनारामा जारी जैतून (ओलिभ) टिपाइँ मौसमका क्रममा फलस्तिनी किसानहरू बारम्बार आक्रमणमा परिरहेका छन् । केही इजरायली कार्यकर्ता र विदेशी स्वयंसेवकले किसानहरूलाई सहयोग गर्दा उनीहरू पनि आक्रमणको निशानामा परेका छन् । नब्लस नजिकैको बेतामा १३ वर्षे आयसम मुल्लाको मृत्यु भएको थियो, जसले सेनाको अश्रुग्यास सुँघेर होस गुमाएको थियो । यसैबीच, बसोबासीहरूका लागि नयाँ घर निर्माणका लागि सन् २०२५ मा ५,६६७ युनिटका टेन्डर आइसकेका छन् । इजरायली मन्त्री बेजालेएल स्मोट्रिचले पश्चिम किनारालाई व्यवहारिक रूपमा इजरायलमा समावेश गर्ने नीति अघि सारेका छन् ।