काठमाडौँ
जुम्लाको कनका सुन्दरी–३ गौरीगाँउका बर्ष ३२ का राजन बुढा तीन बर्ष साउदी बसेर नेपाल फर्किएपछि पासपोर्ट त्यागेर समोसा(समसा)बेच्न थालेका छन् । समोसा व्यवसायबाट उनलाई राम्रो आम्दानी समेत मिलेको छ ।
पछिल्लो समयमा नेपालमा बढ्दो बेरोजगारहरुको संख्या र रोजगारको अवसर नपाएपछि दैनिक विदेश जानेको संख्या बढीरहेका बेला राजन उदाहरणको पात्रका रुपमा दरिएका हुन् ।
‘तीन बर्षको साउदी बसाईमा नेपालीहरुले भोग्नुपरेको समस्याहरु देखें । जसका कारण मलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने जुक्ति फुरेको हो,’ उनले भने ।
उनले कनकासुन्दरी गाउँपालिकामा रहेको गोठीज्यूला बजारमा आलुका बिचिन्न परिकार र समोसा विक्री गरेर दैनिक पाँच हजारसम्मको कारोवार गर्ने गरेका छन् ।
‘यही आलुका बिभिन्न परिकार र समस विक्रीबाट घरखर्च र छोराछोरीलाई सुर्खेतमा नीजि स्कूलमा पढाइरहेको छु । यही पेशाबाट सन्तुष्ट छु । बिहान–बेलुका घर परिवारसँग बस्न पाएको छु । आफ्नै घरमा उत्पादन गरेको आलुबाट समोसा लगायत अन्य परिकारबाट राम्रो आम्दानी भइरहेको छ,’ उनले अगाडि भने,‘म जस्तै मेरा गाँउमा युवाहरुलाई विदेश जानु भन्दा आफ्नै गाँउघर वा देशमा कुनै न कुनै व्यवसाय गरी बस्न र नेपालमै मेहेनत गरे केही गर्न सकिन्छ भन्न चाहन्छु ।’
आलु र पिठोको प्रयोग गरेर तयार गरेका समोसा रारा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यकहरुको रोजाइमा परेको छ । समोसा प्रति गोटाको २० रुपैंयाँ पर्छ । राजन र उनकी श्रीमती बिहानदेखि आलुका समोसा बनाउन भ्याइनभ्याई हुन्छन् ।
राजनले बनाएका समोसा निकै राम्रा र स्वादिला हुने गरेका छन् । स्थानीय भागो र तिलको अचारको स्वादले लोकप्रिय बनेको स्थानीय पदम बुढा बताउँछन् ।