काठमाडौँ।
निजामती कर्मचारी अस्पतालका नर्सहरूले पनि उचित पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै आन्दोलन सुरु गरेका छन्। शुक्रबार काठमाडौँको मीनभवनस्थित सो अस्पतालको मूल गेटमा धर्ना दिँदै उनीहरूले नेपाल नर्सिङ संघले सरकारलाई बुझाएको १५ बुँदे मागसहितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।
न्यूनतम सेवा र सुविधाबाट वञ्चित नगर्न माग गर्दै नर्सिङ संघले जारी राखेको आन्दोलनमा आफूहरूले पनि धर्नामार्फत ऐक्यबद्धता जनाएको उनीहरूले बताएका छन्। उनीहरूले योग्यता र अनुभवको आधारमा आफूहरूलाई सेवा दिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएका छन्।
आन्दोलनरत एक नर्सले भनिन्, "चौबिसै घण्टा सेवा दिने हामीहरू आवश्यक सेवा लिनबाट वञ्चित छौँ। र जुन माग नेपाल नर्सिङ संघले नेपाल सरकारसँग मागेको छ, सबैलाई आवश्यक सेवा सुविधा हुनुपर्छ भनेर, त्यही मागलाई हामीले पनि धर्नामार्फत साथ दिएका हौँ।"
बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरूले 'श्रमको उचित मूल्याङ्कन गर', 'योग्यता र अनुभवको अनुसार पारिश्रमिक कायम गर', 'जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गर' भन्ने प्लेकार्डसहित धर्नामा बसेका थिए।
नेपाल नर्सिङ संघको आह्वानमा देशभरका नर्सहरूले आफूहरूको न्यूनतम सेवा, सुविधाको तत्काल व्यवस्था गर्नुपर्नेलगायतका माग राखी देशभर विरोध प्रदर्शन गर्दै आएका छन्।